काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले फागुन २१ को निर्वाचनमा एमालेसँग चुनावी तालमेल नहुने स्पष्ट पारेको छ।
बिहीबार केन्द्रीय कार्यालयमा बसेको निर्वाचन परिचालन समितिको जुम बैठकले एमालेसँग चुनावी तालमेल नहुने स्पष्ट पारेको हो। बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्डले क्षेत्रगत वा कुनै पनि खालको चुनावी तालमेल गर्ने विषयमा एमालेका अध्यक्ष केपी ओलीसँग छलफल नभएको प्रस्ट पारेका थिए । पछिल्लो समय देशभर नेकपाको पक्षमा चुनावी माहोल राम्रो बन्दै गएकाले निष्पक्ष र धाँधलीरहित चुनाव भएमा नेकपा एक नम्बरको पार्टी बन्ने दाबीसहितको ब्रिफिङ प्रचण्डले गरेका हुन्।
‘देशभर हाम्रो पार्टीको पक्षमा चुनावी माहोल राम्रो बन्दै गएको छ । सबै जनाले अझ मेहनत गरेको खण्डमा एक नम्बरको पार्टी बन्छ। अहिले एमाले वा कांग्रेस कुनै पार्टीसँग चुनावी तालमेलबारे कुराकानी भएको छैन’, प्रचण्डको भनाइ उदृद्ध गर्दै नेता राजेन्द्र श्रेष्ठले भने।
श्रेष्ठकाअनुसार एकहप्ता अगाडि कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले तीन पार्टी मिलेर जाने प्रस्ताव गरेको तर आफूले अस्वीकार गरेको प्रचण्डले जानकारी गराएका थिए। पहिला देउवाले मिलेर जाउँभन्दा ओलीले आफ्नो पार्टीलाई होच्याएर ओलीले कांग्रेस र एमालेबिच मात्र चुनावी तालमेलको प्रस्ताव ओलीले गरेको श्रेष्ठले आरोप लगाए। अहिले स्थिति प्रतिकुल देखिएपछि एमालेले सहकार्यको प्रस्ताव गरेको उनको जिकिर छ।

